प्रिमियर लिगमा लिभरपुलको विजयी शुरूवात,बर्नामाउथ ४-२ गोलले पराजित

३२ श्रावण २०८२

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले विजयी शुरूवात गरेको छ । शुक्रबार राति भएको सिजनको पहिलो खेलमा एएफसी बर्नामाउथलाई ४-२ गोलले हराउँदै लिभरपुलले लिगमा सुखद शुरूवात गरेको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन हुगो एकिटिके, कोडी गाक्पो, फेडेरिको चिएसा र मोहम्मद सलाहले समान एक/एक गोल गरे । बर्नामाउथको लागि एन्टोनी सेमेन्योले दुई गोल फर्काए । लिभरपुलले खेलमा लिएको दुई गोलको शुरूवाती अग्रता जोगाउन नसकेपनि अन्तिम समयमा दुई गोल गर्दै जित निकालेको हो ।

३७ औँ मिनेटमा म्याक अल्लिस्टरको पासमा एकिटिकेले गोल गर्दै लिभरपुललाई शुरूवाती अग्रता दिलाएका थिए । ४९ औँ मिनेटमा एकिटिकेको पासमा गाक्पोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाएका हुन् । ६४ औँ मिनेटमा ब्रुक्सको पासमा सेमेन्योले गोल गर्दै बर्नामाउथलाई २-१ गोलको स्थितिमा ल्याएका थिए ।

७६ औँ मिनेटमा ट्राओरेको पासमा सेमेन्योले गोल गर्दै पाहुना टोलीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । ८८ औँ मिनीमा चिएसाले गोल गर्दै लिभरपुललाई ३-२ गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा इन्डोको पासमा सलाहले गोल गर्दै लिभरपुललाई ४-२ गोलको जित दिलाएका हुन् ।

जितसँगै लिभरपुलले तीन अंक जोडेको छ ।