अफगान आप्रवासी चढेको बस दुर्घटना हुँदा १७ बालबालिकासहित ७३ जनाको मृत्यु

४ भाद्र २०८२

हेरात । अफगानिस्तानको हेरात प्रान्तमा भएको बस दुर्घटनामा १७ बालबालिकासहित ७३ जनाको मृत्यु भएको छ । मृतकहरू मध्ये अधिकांश इरानबाट जबरजस्ती फर्काइएका अफगान आप्रवासी रहेका तालिबान अधिकारीहरूले जनाएका छन् ।

मङ्गलबार राति काबुलतर्फ गइरहेको बस ट्रक र मोटरसाइकलसँग ठोक्किएर आगलागी हुँदा दुर्घटना भएको हो । बसमा सवार सबै यात्रु र अन्य दुई सवारीमा रहेका दुई जनाको ज्यान गएको छ । हेरात प्रहरीले चालकको तीव्र गति र लापरबाही दुर्घटनाको कारण भएको जनाएको छ ।

इरानले पछिल्ला महिनाहरूमा कागजातविहीन अफगान आप्रवासीलाई जबरजस्ती स्वदेश फर्काउने अभियान तीव्र पारेको छ। संयुक्त राष्ट्र शरणार्थी निकायका अनुसार यस वर्ष मात्र १५ लाखभन्दा बढी अफगानीहरू इरान छाड्न बाध्य भएका छन् ।