अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालको दोस्रो जित

४ भाद्र २०८२

काठमाडौं । तीव्र गतिका बलर सोमपाल कामीले पाँच विकेट लिएपछि अष्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा मेलबर्न रेनेगेड्सलाई ३३ रनले हराउँदै नेपालले सिरिजमा लगातार दोस्रो जित निकालेको हो ।

जितको लागि १ सय ४० रनको विजयी लक्ष्य पछ्याएको रेनेगेड्स निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६ रनमा समेटिएको हो । रेनेगेड्सको लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाउँदा जे लेमिरेले १८, ह्यारी डिक्सनले १६, ओलिभर ओइकले १४ र ह्यारी होएक्स्त्रले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि सोमपाल कामीले ४ ओभरमा १७ रन दिएर पाँच विकेट लिए । यस्तै कुशल भुर्तेलले दुई विकेट लिँदा शहाब अलाम र रुपेश सिंहको नाममा एक/एक विकेट रह्यो ।

यसअघि पाम्लेर्स्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । नेपालको लागि कुशल मल्लले सर्वाधिक २९ रन बनाउँदा दीपेन्द्र सिंह एरीले २७, भीम शार्कीले १७, रिपेश सिंहले १६ र आरिफ शेखले १२ रन बनाए । अन्त्यमा लोकेश मल्लले १६ बलमा २ छक्का र एक चौकाको मद्दतमा २४ रन बनाउँदै नेपाललाई सम्मानजनक योगफलमा पुर्याएका हुन् ।

रेनेगेड्सको लागि फेर्गुस निल, कालुम स्टो, लाच्लन बान्ग्स र माइकल आर्चरले समान दुई/दुई विकेट लिए ।

जितसँगै नेपाल ५ खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रेनेगेड्स समान ४ अंकको साथ सातौँ स्थानमा रहेको छ ।