अदालतले तोकेको बिगो बुझाउँदा पनि सुविधा नपाएको प्रचण्डसँग रवि लामिछानेको गुनासो

प्रचण्डसँगको भेटमा रविले भने सत्ता गठबन्धनका दलहरूले गरेको प्रतिशोधका कारण आफू र पार्टीलाई फाइदै भएको छ
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बुधबार नख्खु कारागार पुगेर प्रचण्डले रविसँग भेट गरेका हुन् । रविसँगको भेटपछि प्रचण्डले भैरहवा कारागारमा रहँदा रविले धेरै पीडा पाएको बताए ।
उनले भने, ‘भैरहवामा नाजुक अवस्था रहेछ । यहाँ आएपछि सुधार हुँदै छ । उहाँ दुब्लाउनुभएको छ, अनुहारमै देखिन्छ ।’
भेटका क्रममा लामिछानेले सत्ता गठबन्धनका दलहरूले गरेको प्रतिशोधका कारण आफू र रास्वपालाई राजनीतिक फाइदा भएको निष्कर्ष सुनाएका थिए । उनले रविमाथि विभेद कम होस् भन्ने आफ्नो चाहना रहेको बताए ।
उनले भने, ‘उहाँमाथि भएको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने चाहना हो । तर उहाँले के महसुस गर्नुभएको रहेछ भने कांग्रेस र एमालेले जसरी व्यवहार गरे, त्यसले उहाँ र उहाँको पार्टीलाई राजनीतिक रूपमा फाइदा नै पुगिरहेको देख्नुभएको रहेछ ।’
भेटमा रविले अदालतले तोकेको बिगो बुझाउँदा पनि सुविधा नपाएको गुनासो गरेका थिए । प्रचण्डले भने, ‘मेरै जस्तो केसमा अरूले उन्मुक्ति पाउने, अझ गम्भीर मुद्दा भएकाहरू उम्कने तर मलाई मात्रै लखेटिएको गुनासो उहाँको थियो । अहिले पनि मसँग राख्नुभयो, सदनदेखि सडकसम्म बोलेको कुरा उहाँलाई थाहा थियो, मैले त्यो दोहोर्याएँ ।’ भेटमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्: