एनआरएनए यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिले लियो शपथ

१७ भाद्र २०८२

कार्डिफ, वेल्स । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके राज्य समन्वय परिषद् वेल्सको नयाँ कार्यसमितिले शपथ ग्रहण गरेको छ । ३१ अगस्ट आइतबार कार्डिफमा एक कार्यक्रमबीच शपथ ग्रहण भएको हो ।

एनआरएनए आइसीसी उपाध्यक्ष विश्वासदीप तिगेला र एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले संयुक्त रुपमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरे । त्यसपछि नेपाल र वेल्स दुवैको राष्ट्रिय गान प्रस्तुत गरिएको थियो, जसको संयोजन श्रीराम थापा मगरले गरेका थिए।

एनआरएनए यूकेका उपाध्यक्ष झलक पुनले स्वागत मन्तव्य दिँदै वेल्समा नयाँ कार्यसमिति गठन हुनु समुदायलाई सबल बनाउन ठूलो कदम भएको बताए। उनले समितिले प्रवासी नेपालीहरुको हकहितमा ठोस काम गर्ने विश्वास व्यक्त गरे।

आइसीसी सदस्यहरु ओमप्रसाद थापा काउचा, शारदा गुरुङ र अमृत घले; एनआरएनए यूके प्रमुख सल्लाहकार डा. भीम पुन, एनआरएनए यूके संरक्षक डेभिट गुरुङ र क्याप्टेन बिरबहादुर थापा; एनआरएनए सल्लाहकार थर्क सेन लगायतले संघलाई अझ प्रभावकारी बनाउन सुझाव दिए ।

महासचिव जुरेन्द्र खजुमले त्रिपक्षीय सन्धिअनुसार नेपाली नागरिक भएर सेवा पुरा गरी नेपाली नागरिकको हैसियतमा अवकाश लिने व्यवस्था रहेको तर अवकाशपछि नेपाली नागरिकता त्यागी आइएलआर वा ब्रिटिश पासपोर्ट लिएका भूतपूर्व र कार्यरत गोरखा सैनिकहरुलाई समेत नेपाल सरकारले नागरिकता ऐन र गैरआवासीय नेपाली ऐनमार्फत एनआरएनएको परिधिमा समेटेको कुरा प्रष्ट पारे।

त्यस्तै एनआरएनए यूके महिला सचिव मणिकला राई गुरुङले महिलाको सशक्तिकरणका लागि वेल्स राज्य परिषद्ले महत्वपूर्ण पहल गर्ने विश्वास व्यक्त गरिन्।  नेपाली समाज कार्डिफका पूर्व अध्यक्ष निरलाल मोक्तानले समुदायलाई अझ एकजुट बनाउन नयाँ समितिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले दोहोरो नागरिकता, वंशजको नेपाली नागरिकता निरन्तरता र गोर्खाहरु एनआरएनए सदस्य हुने–नहुनेबारे अद्यावधिक जानकारी दिए। आइसीसी उपाध्यक्ष विश्वासदिप तिगेलाले अन्तर्राष्ट्रिय परिस्थिति र संघको हालको गतिविधिबारे जानकारी दिए।

वेल्स राज्य समन्वय परिषद् अध्यक्ष दिपक सुब्बा इङ्देनले मन्तव्यसहित समापन गरेका थिए । कार्यक्रमले नयाँ कार्यसमितिलाई औपचारिक रुपमा जिम्मेवारी ग्रहण गराएको मात्र होइन, वेल्सस्थित नेपाली समुदायलाई उत्सवमय वातावरणमा एकताबद्ध पनि बनाएको छ।

सो अवसरमा राज्य समन्वय परिषद् वेल्सका मूख्य संरक्षक दीपप्रसाद पुन र बद्री योङया लिम्बु तथा सल्लाहकार नेपाली समाज कार्डिफका पूर्व अध्यक्ष निरलाल मोक्तानलाई सम्मान गरिएको थियो।

यस्तो छ वेल्स नयाँ कार्यसमितिः

अध्यक्ष – दीपक सुब्बा इङ्देन

उपाध्यक्ष – सीता गुरुङ राई

सचिव – पवन राना मगर

सह–सचिव – श्रीराम थापा मगर

कोषाध्यक्ष – रत्ना राई

सह–कोषाध्यक्ष – प्रदीप गुरुङ

सदस्यहरुः प्रकाश गुरुङ, खगेन्द्र लिम्बु इङ्देन, सुवास राई, उवराज पुन र प्रशान्त गौतम