रेल दुर्घटना हुँदा पोर्चुगलमा कम्तीमा १५ जनाको मृत्यु

लिस्बन । पोर्चुगलको लिस्बनमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । लिस्बनको ऐतिहासिक ग्लोरिया फ्युनिकुलर रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । पोर्चुगलको आपतकालीन सेवाका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ ।
दुर्घटनापछि केही यात्रु अड्किएका थिए, तर सबैलाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै त्रासदीका पीडितहरूसँग ऐक्यबद्धता जनाएका छन् ।
बुधबार साँझ करिब ६ बजे एवेनिडा दा लिबेर्दादे नजिक भएको दुर्घटनामा फ्युनिकुलर पल्टिएर भवनमा ठोक्किएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक दृश्यमा पहेँलो बग्गी ध्वस्त भएको र धुवाँ फैलिँदा मानिसहरू भागिरहेको देखिन्छ । प्रत्यक्षदर्शीहरूले फ्युनिकुलर ब्रेक फेल भई तीव्र गतिमा खस्दै भवनमा ठोक्किएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्: