अरनिको राजमार्गको कोदारी खण्ड सोमबार दिउँसोदेखि सञ्चालनमा

६ आश्विन २०८२

काठमाडौँ । चीनलाई जोड्ने उत्तरी तातोपानी नाकासँग जोड्ने अरनिको राजमार्गको कोदारी खण्ड सोमबार दिउँसोदेखि सञ्चालनमा आएको छ ।

राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ को कोदारी, इर्कुसहित पाँच स्थानमा पहिरो हटाएर सडक सुचारु गरिएको हो ।

साउन १७ देखि उक्त खण्ड पहिरो खसेर अवरुद्ध बनेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे जानकारी लिएको छ ।

अनुगमनका क्रममा पहिरोबाट सबैभन्दा बढी प्रभावित इर्कु क्षेत्रका बासिन्दासँग छलफल गरी बस्तीको जोखिम न्यूनीकरणका उपाय, सडकलाई स्थायी रूपमा सञ्चालन गर्न दीर्घकालीन प्राविधिक कार्यसहितका विषयमा समेत छलफल गरिएको थियो । चाडपर्वको बेला चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने बाटो बन्द भएपछि पहिरो हटाउने कार्यमा स्थानीयको अवरोध देखिएको थियो।

त्यसपश्चात मन्त्री घिसिङले गत बुधबार भोटेकोशी–२ का वडाध्यक्षलगायत स्थानीय अगुवाहरूलाई आफ्नै निवासमा बोलाएर बाटो खोल्न आवश्यक सहयोग र सहजीकरण गरिदीन आग्रह गरेका थिए ।

सडक सञ्चालनमा आएसँगै दसैंका लागि सामान बोकेर आएका कन्टेनरहरू आवतजावत गर्न थालेका छन् । सडक खुलाउन प्राविधिक जनशक्ति र मेसिन परिचालन गरी तीव्र गतिमा काम गरिएको सडक डिभिजन दोलखाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन् ।