काठमाडौं महानगरका संस्थागत विद्यालयका २० हजार विद्यार्थीले पाए छात्रवृत्ति

काठमाडौं । काठमाडौं महानगरपालिकामा रहेका संस्थागत विद्यालयहरुमा यसवर्ष २० हजारभन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाएका छन् ।
काठमाडौंका मेयर बालेन साहका अनुसार छात्रवृत्ति पाउनेहरुको यो संख्या अहिलेसम्मकै उच्च हो ।
महानगरअन्तर्गतका संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्ने कानूनलाई लागू गर्दा २० हजारभन्दा धेरै विद्यार्थीले सवा दुई अर्बको छात्रवृत्ति पाएका हुन् ।
कार्यान्वयनको पहिलो वर्ष १३ हजार, दोश्रो वर्ष १९ हजार र यो वर्ष १ देखि १० कक्षासम्म १६ हजार ९८० र ११ मा ३३ सय २ गरि जम्मा २० हजार २८२ ले करिब २ अर्ब २५ करोड बराबर को छात्रवृति पाएका छन् ।
यो शैक्षिक सत्र २०८२ मा हाल सम्म विवरण बुझाउने विद्यालयको संख्या ४४० पुगेको छ । जसअनुसार १६ हजार ९८० जनाले छात्रवृति पाएका छन् । केही विद्यालयले हालसम्म विवरण बुझाएका छैनन् । उनीहरुलाई यथाशिघ्र विवरण बुझाउन मेयर साहले आग्रह गरेका छन् ।
विवरण पेस नगर्ने विद्यालयहरु बन्द विद्यालयको रुपमा बुझी काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने महानगरले जनाएको छ ।
महानगरले भनेको छ, ‘प्राप्त भएको विवरणको पनि हामी अनुगमन गर्नेछौं, फरक पाइएमा कानुन बमोजिम कारबाही हुनेछ। कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।’
प्रतिक्रिया दिनुहोस्: