एसएसडब्ल्यू प्रणाली अन्तर्गत श्रमिकको मागपत्र पेश गर्न अध्यक्ष गुरूङकाे अनुरोध

११ कार्तिक २०८२

जापान । जापानमा निश्चित सीपयुक्त श्रमिकको मागपत्र प्रमाणीकरण सुरू भएको छ । नेपाली राजदूतावास जापानले एक विज्ञप्ति जारी गर्दै प्रचलित कानून, नियमावली, निर्देशिका तथा अन्य सम्बन्धित कानूनी प्रावधान, प्रणाली र प्रक्रियाअनुसार निश्चित सीपयुक्त श्रमिकको मागपत्र प्रमाणीकरण गर्ने कार्य सुरु गरेको उल्लेख गरेकाे छ ।

प्रमाणीकरणका लागि आवश्यक कागजातहरू राजदूतावासको वेबसाइटमा प्रविष्ठ गरिएको दूतावासले जनाएको छ ।

यसैबिच, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरूङले जापान भ्रमणका क्रममा व्यक्तिगत श्रमस्वकृतिमा जापान आउँदा देखा परेका समस्या र दूतावासमा गरेका गुनासाहरू प्रशस्त रहेकाे बताउँदै आगामी दिनमा संस्थागत माध्यमबाट मात्रै जापान आउनुपर्ने बताउँदै श्रमिकको मागपत्र पेश गर्न अनुरोध समेत गरे ।

व्यक्तिगत श्रम स्वकृतिमा जादा धेरै समस्या परेकाले व्यक्तिगत भिसामा कामदार पठाउँदा बिचौलियाले व्यापक अव्यवस्था, सेटिङ र ठगीका कारण संस्थागत नै राम्रो भएको उनकाे भनाई छ । संस्थागत माध्यमबाट जापान कामदार पठाउँदा पारदर्शिता, श्रमिक अधिकारको संरक्षण र दुवै देशबीच भएको श्रम सम्झौता मजबुुत हुने अध्यक्ष गुरूङ बताउँछन् ।

जापानमा दक्ष सीप भएका कामदार पठाउन सन् २०१९ मा नै दुई देशबीच समझदारी भएको थियो । तर, उक्त समझदारी भएको करिब ६ वर्षपछि मात्रै जापान कामदार जाने बाटो खुलेको हो । स्पेसिफाइड स्किल्ड वर्कर (एसएसडब्ल्यू) प्रणाली अन्तर्गत भाषा र सीप परीक्षणबाट कृषि, नर्सिङ, होटललगायत विभिन्न १२ क्षेत्रमा दक्ष कामदार जापान पठाउने भनिएको थियो ।

वैदेशिक रोनगार ऐन, २०६४ ले इजाजतबिना कसैले पनि वैदेशिक रोजगारमा कामदार पठाउन पाइँदैन । यसरी पठाएमा ऐनको दफा ४३ अनुसारको कारबाही गरिने उल्लेख छ । यसका आधारमा अवैध काम गर्नेमाथि कारबाही गर्नुपर्ने वैदेशिक रोजगार व्यवसायीहरुको माग छ ।