मलेसियाकाे राेजगारीमा ‘सिण्डिकेट’ विरोधमा व्यवसायी,एसोसिएसन र संघद्वारा सरकारकाे ध्यानाकर्षण

१४ कार्तिक २०८२

काठमाडौं । मलेसिया रोजगारीमा स्वार्थ समूहले एकाधिकार (सिण्डिकेट) लगाउन खोजेको भन्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

दुवै संस्थाले एकाधिकार लगाउने विषय कुनै पनि हालतमा मान्य नहुने जनाएका हुन् । साथै, कूटनीतिक तवरबाट यो समस्याको समाधान गरी व्यवसायलाई सुरक्षित बनाउन सरकारलाई अनुरोध गरेका छन् ।

लोकतान्त्रिक एसोसिएसनको विज्ञप्तिमा नेपालमा रहेका म्यानपावर कम्पनीहरूलाई वर्गीकरण गर्ने प्रयास नेपालका व्यवसायीको स्वाभिमानका साथै संविधानको बर्खीलाप हुने उल्लेख गरिएको छ । मलेसियाले तोकेको कार्यालयको क्षेत्रफलजस्ता मापदण्ड अनुचित रहेको र यस्तो मापदण्डको गुणस्तरीय सेवासँग कुनै सम्बन्ध नरहेको जनाइएको छ ।

एसोसिएसनले केही व्यवसायीहरु विभागीय मन्त्री नभएको अवस्थामा सिण्डिकेटको चलखेलमा लागेको र केही व्यवसायी देखावटीरुपमा विरोध गरेजस्तो गर्ने गरेको पनि औंल्याएको छ । त्यसैगरी, नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियन सरकारको नेपाली राजदूतावासमार्फत पठाएको १० बुँदे मापदण्डसहितको पत्र सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सीमित व्यवसायीहरूलाई मात्र मलेसिया रोजगारीमा काम गर्न अनुमति दिने गरी मलेसियाको रोजगारीमा सिन्डिकेट खडा गर्ने दुष्प्रयास भएको संघको आरोप छ । सिन्डिकेट प्रवृत्ति विरुद्ध सम्पूर्ण व्यवसायीहरूलाई एकजुट हुन समेत संघले आह्वान गरेको छ ।

संघको संस्थागत आह्वान र अनुरोध सुनुवाइ नगरिएमा यस्ता गलत नियतका साथ आएको सिन्डिकेटलाई पक्षपोषण गरी जबरजस्ती गर्ने प्रयास भएमा त्यसको प्रतिकारमा  उत्रने चेतावनी समेत संघले दिएको छ ।