मतदाता नामावलीमा नाम दर्ता गराउनको भीड बढेपछि दैनिक १२ घण्टासम्म सेवा प्रवाह गर्दै आयोग

२७ कार्तिक २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव्रता दिएको छ । आयोगले आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकले मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने जनाएको छ ।

फागुन २० गतेसम्म १८ वर्ष नपुगेका तर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिलाई भने निर्वाचन सम्पन्न भएपछि पनि मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगले आग्रह गरेको छ । दैनिक आठ सयभन्दा बढी नाम दर्ता भइरहेका तथा जिल्लामा दुई चरणमा ६/६ घण्टाका दरले सेवा प्रवाह गरिने व्यवस्था मिलाइएको आयोेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

उक्त प्रयोजनका लागि काठमाडौँं उपत्यकाभित्रका तीन जिल्लाका दर्ता केन्द्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाइएको छ । अन्य जिल्लामा भने सेवाग्राहीको चापका आधारमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले आवश्यक थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरेको आयोगले जनाएको छ ।