विभाजन भएको चार वर्षपछि गैरआवासीय नेपाली संघको एकता घोषणा
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताएकी छन् ।
गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरिन् ।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन् ।
‘विदेश बसेर काम गर्न नेपालीलाई दुःख पनि छ । मेहनतपछि सफलता पाइन्छ । विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ । तपाईंहरुले आफ्नो माटोका लागि के–कति गर्न सक्नुहुन्छ गर्नुहोस्’, प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदालगायत धेरै क्षति भएको छ । शान्त तलाउमा ढुङ्गा हानिए जस्तो भएको छ । यसको मूल्याङ्कन गर्नुपर्ने भएको छ । मुलुकको हित र विकासका लागि तपाईंहरूको थप सहयोग र सुझावको अपेक्षा गरेका छौँ ।’
उनले निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्ने र हार्नेले अर्काेपटक अवसर र जिम्मेवारी पाइएला भन्ने सोचेर राम्रो काम गर्न लाग्नुपर्ने र सङ्घको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्नेमा जोड दिइन् ।
यसैबीच प्रधानमन्त्री कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् । एनआरएनए पछिल्ला केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील थिए ।
मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार भएको हो । एकतापछि १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने सहमति जुटेको छ । केसी नेतृत्वको कार्यसमिति श्रेष्ठको नेतृत्वमा एकता महाधिवेशनमा जान तयार भएको छ ।
महाधिवेशनलाई पारदर्शी एवं विश्वासयोग्य बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गर्ने, त्यस्तो कमिटीमा रहेका व्यक्ति १२औं महाधिवेशनमा उम्मेदवार नहुनेजस्ता सहमति जुटेको छ ।
विभाजन भएको चार वर्षपछि एनआरएनएको एकता घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्: