देउवा, ओली र प्रचण्ड निर्वाचनप्रति प्रतिवद्ध, सुरक्षाप्रति भने सशंकित

११ पुष २०८२

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको वातावरण बनाउन दौडधुप गरेका छन् । संचारमन्त्री खरेलले शुक्रबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । भेटवार्ता निर्वाचन केन्द्रित रहेको थियो ।

संचारमन्त्री सुरुमा कांग्रेस सभातपति देउवालाई भेट्न महाराजगंजस्थित निवास पुगेका थिए । भेटमा सभापति देउवाले आफ्नो पार्टी आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिने तयारीमा जुटिसकेको बताएका थिए । उनले निर्वाचनमा भाग लिने निर्णय आफ्नो पार्टीले गरेको र कांग्रेसको प्राथमिकतामा पनि निर्वाचन नै भएको बताएका मन्त्री खरेलले जानकारी दिए । साथै सभापति देउवाले स्वतन्त्र एवं निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्न सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएको मन्त्री खरेलले बताए ।

त्यसपछि मन्त्री खरेल एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका थिए । ओली भेट्न गुण्डु पुगेका मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका थिए ।

भेटपछि मन्त्री खरेलले भने, ‘सरकार तोकिएकै दिन निर्वाचन गराउन पूर्ण रूपमा तयारी गरेको छ । निर्वाचनका लागि सरकारले सुरक्षा व्यवस्थापन सुदृढ बनाउने छ । निर्वाचनको सबै तयारी तीव्र रूपमा भइरहेको सन्दर्भमा निर्वाचनकै विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आज छलफल भयो, अहिले एमाले अध्यक्ष केपीओलीसँग पनि छलफल भयो । सरकार निर्वाचनको वातावरण बनाउन प्रतिबद्ध छ ।’

अध्यक्ष ओलीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले सुरक्षालगायत सबै वातावरण सहज बनाउनुपर्नेमा जोड दिएको मन्त्री खरेलले जानकारी दिए ।

अध्यक्ष ओलीसँग शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको वातावरण सुनिश्चितताको कुरा भएको जानकारी दिदै मन्त्री खरेलले निर्धक्क भएर उम्मेदवारलाई जनताको घरदैलोमा मत माग्न जाने र मतदातालाई निर्धक्क भएर मतदान गर्न सक्नेगरी सुरक्षा व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उनलाई अवगत गराएको बताए ।

सरकारले निर्वाचनको वातावरण बनाएकाले ढुक्कसँग चुनावमा सहभागी हुन आफूले आग्रह गरेको जानकारी दिँदै मन्त्री खरेलले भने, ‘एमाले चुनावको पक्षमा छ, एमाले निर्वाचनबाट भाग्दैन भन्नुभएको छ, सुरक्षा चुनौती छ, वातावरण बनाउनुपर्यो भन्ने जुन कुरा उहाँले राख्नुभयो ती सबै सरकारले सम्बोधन गर्छ । सरकारले चुनावको वातावरण बनाउछ ।’

एमाले अध्यक्ष ओलीमाथि लगाइएको स्थान हदबारे पुनर्विचार गर्ने कुरामा पनि सरकार सकारात्मक रहेको उनले बताए । सञ्चारमन्त्री खरेलले सरकारको लक्ष्य नै निर्वाचन भएकाले यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरू भए त्यसलाई सहज बनाउँदै सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सम्पूर्ण काम गर्ने प्रतिबद्धता जनाए ।

ओलीलाई भेटेपछि संचारमन्त्री खरेल नेपाली कम्युनिष्ट पार्टीका अध्यक्षलाई भेट्न हात्तीवनस्थित निवास पुगेका थिए । प्रचण्डसँगको भेटमा पनि निर्वाचन केन्द्रित कुराकानी भएको मन्त्री खरेलले बताए ।

भेटमा प्रचण्डले निर्वाचनको विकल्प नभएको र निर्वाचनको वातावरण बनाउन सरकारले सहयोग गर्ने बताए ।
प्रचण्डसँगको भेटपछि मन्त्री खरेलले भने, ‘प्रचण्डसँगको भेटमा उहाँले निर्वाचनको विकल्प छैन, फागुन २१ मै हुनुपर्छ, निर्वाचनको लागि सरकारलाई सहयोग हुन्छ।’

तीनै जना नेतासँगको भेटले निर्वाचनको विश्वसनीय वातावरण बनेको मन्त्री खरेलले बताए । केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्री सुशीला कार्की, ओली, देउवा र प्रचण्डबीच छलफल भएको थियो । त्यसपछि प्रधानमन्त्रीले निर्वाचनको वातावरण बनाउन भन्दै संचारमन्त्रीलाई प्रमुख दलका शीर्ष नेतालाई भेट्न पठाएकी हुन् ।