कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरुले हेर्दाहेर्दै जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रमको तुवाँलो फैलाइँदैछः अध्यक्ष ओली

२६ पुष २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ महाधिवेशन पार्टीको आन्तरिक विषय मात्र नभएर त्यसले समग्र राष्ट्रिय राजनीतिलाई नै सकारात्मक रूपले प्रभावित गरेको बताएका छन् ।

महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर छ भन्ने भ्रमलाई चिर्दै मुलुकमा लोकतन्त्रलाई पुनस्र्थापित गर्न र सुदृढीकरणको अगुवाइ गर्न थप नैतिक बल प्राप्त भएको बताएका हुन् ।

उनले अब महाधिवेशन पूर्वका समूहबन्दी, केही विवाद र प्रश्नहरु विधिवत् रूपमा टुङ्गिएका बताए । उनले भने, ‘पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर छ भन्ने भ्रमलाई महाधिवेशनबाट चिरिएको छ । आन्तरिक लोकतन्त्र थप सुदृढ बनाएसँगै हाम्रो पार्टीलाई मुलुकमा लोकतन्त्रलाई पुनस्र्थापित गर्न र सुदृढीकरणको अगुवाइ गर्न थप नैतिक बल प्राप्त भएको छ । यससँगै महाधिवेशन पूर्वका समूहबन्दी, केही विवाद र प्रश्नहरु विधिवत् रुपमा टुङ्गिएका छन् र पार्टीको आन्तरिक एकता सुदृढ भएको छ । महाधिवेशनले दिन खोजेको यो अर्को सशक्त सन्देश हो ।’

उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीहरूलाई भदौ २३–२४ का घटनामा सम्भव भएसम्म मुछ्ने र त्यसो गर्न नसकिए पनि मिथ्या प्रचार, मिडिया ट्रायल र ’समन’ र ‘बयान’ मार्फत तेजोवध गर्ने प्रयास पनि असफल भएको बताए ।

उनले भने, ‘दलहरूसँग संवाद गर्ने ठाउँमा आइपुगेको छ । स्थापित दलहरूलाई निर्वाचनमा भागै लिन नदिने, घरबाट बाहिर निस्कनै नदिने भन्नेजस्ता विभिन्न शङ्कास्पद पात्रहरूको माकफुइँलाई विफल तुल्याइएको छ । तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीहरूलाई भदौ २३–२४ का घटनामा सम्भव भएसम्म मुछ्ने र त्यसो गर्न नसकिए पनि मिथ्या प्रचार, मिडिया ट्रायल र ’समन’ र ‘बयान’ मार्फत तेजोवध गर्ने प्रयास पनि असफल भएको छ ।’

अध्यक्ष ओलीले राजनीतिक पार्टीहरूकै भूमिकाको बलमा लोकतन्त्र बलियो हुने भए पनि यतिबेला विचारविहीन, कुनै सार्वजनिक जबाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरू एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरूलाई चुनौती दिइरहेको बताए ।

उनले भने, ‘कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरुले हेर्दा हेर्दै समस्याहरुको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदैछ । तर न त विध्वंश आन्दोलन हो, न ‘पपुलिज्म’ नै अग्रगामी विकल्प । ‘पपुलिज्म’ ले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ र पपुलिजम, सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंश र यही हो सिलसिला ! थप समस्या जन्माउँदै जान्छ । सत्तामा जान जस्तो सुकै भावना पनि बेच्ने र जस्तो सुकै सम्झौता गर्ने पपुलिष्ट पात्रहरुले हाम्रो जस्तो देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्छन् । त्यसैले यतिबेला भदौ २४ को विध्वंशको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्दत र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्वहरुबाट जनतालाई भ्रममुक्त गर्नैपर्छ ।’