बहुमत र अल्पमतको टुंगो गर्ने पनि थिति होला नि,सडकमा बहुमत पुरयाएँ भनेर भनेका भरमा हुन्छ?

३ माघ २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरुले जानीबुझीकन विशेष महाधिवेशन गरेको बताएका छन् । शुक्रबार पार्टीको राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा अध्यक्ष ओलीले सडकबाट बहुमत पुर्याएको बताएका हुन् ।

उनले प्रश्न गरे, ‘महाधिवेशनको मिति तोकिसकिएको छ । बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि । कसैले सडकमा बहुमत पुरयाएँ भनेर भनेका भरमा हुन्छ?’

अध्यक्ष ओलीले लोकतन्त्र र संविधान कमजोर पारिएको अवस्थामा त्यसबारेमा चिन्ता गर्नुपर्ने बेला नेपाली कांग्रेस अनावश्यक लडाइँमा फसेको बताए ।

उनले नेपाली कांग्रेस लोकतन्त्र ल्याउने र बचाउने ठूलो शक्ति भएको हुँदा बाह्य तत्वले पार्टी कमजोर पार्न खोजेको बताए । उनले कांग्रेसभित्रको विवाद समाधान गर्ने स्पष्ट कानुन र ऐन भएको हुँदा निर्वाचन आयोगले तलमाथि गर्नै नपर्ने बताए ।

अध्यक्ष ओलीले बौद्धिक जगतले देशको र संविधानको हुर्मत लिएको आरोप लगाए । उनले लोकतन्त्र राजनीतिक पार्टीका नेताहरुलाई मात्रै चाहिएको हो ? भन्दै प्रश्न गरे । उनले पहिला ठूला पाखुरा भएकालाई लडाएको एमालेलाई अहिले सबैले थर्काउने गरेको बताए ।

उनले भने, ‘इत्रा पाखुरा भएको हस्ति आउँदा इत्रा हात भएको एमालेले लडाइदिन्थ्यो यही राजधानीमा । अहिले त जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ, के भएको एमाले ?’ अध्यक्ष ओलीले न्याय निरूपण गर्ने निकायमा बसेकाहरूलाई त्रसित बनाइएको बताए ।