चुनावपछिको नयाँ संसदका लागि नयाँ भवन नै प्रयोग हुन
काठमाडौँ । संघीय संसद सचिवालयले २१ फागुनको प्रतिनिधिसभा चुनावपछि आउने नयाँ संसदको लागि नयाँ संसद भवन नै प्रयोग हुने जनाएको छ ।
संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाको निर्वाचन पश्चात तत्काल बैठक सञ्चालनका लागि सरकारसँग निरन्तर सम्वादमा रहेको र नयाँ संसद भवन नै प्रयोग हुने जानकारी दिएका हुन् । अहिले नयाँ संसद भवनबाहेक अन्य विकल्पमा कुनै छलफल नभएको उनले बताए ।
नयाँ संसद भवनमा सभा सञ्चालनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू न्यूनतम रूपमा भएपनि प्राप्त हुने संसद सचिवालयको विश्वास रहेको उनको भनाइ छ । प्रवक्ता गिरीले अधिवेशन आह्वान हुनुभन्दा पन्ध्र बीस दिन अगावै सभा कक्षसहितका आवश्यक पूर्वाधारहरू सचिवालयलाई उपलब्ध हुने उल्लेख गरे ।
उनले नयाँ संसद भवनमा निर्माण भइरहेको प्रतिनिधिसभातर्फ १२ वटा मध्ये बैठक कक्ष सहित ६ वटा कक्ष उपलव्ध भएको अवस्थामा बैठक सञ्चालन हुने देखिएको बताए ।
तत्कालका लागि न्यूनतम रूपमा बैठक सञ्चालन गर्ने र निर्माण भइसकेपछि क्रमशः अन्य कामहरु नयाँ भवनबाट सुरु गर्नेगरि तयारी भएको उनले बताए । यसअघि संसद सचिवालयले नयाँ सांसदका लागि आवश्यक व्यवस्था गर्न सरकारलाई पत्रचार समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्: