प्रधानमन्त्री वा सरकारले मात्र गर्न सक्दैन, त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने होः सभापति थापा
सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेससँग देश बदल्ने सोच, सङ्कल्प र योजना रहेको बताएका छन् । सर्लाही क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार थापाले शनिबार मतदातासँगको भेटघाटमा विगतमा गरेका कमीकमजोरीबाट सिक्दै वर्षोंदेखि गर्छौं भनेर गर्न नसकिएका कामलाई मूर्तरूप दिने योजना र तयारीसहित कांग्रेस निर्वाचनमा सहभागी भएको बताए ।
उनले भने, ‘दोस्रो विशेष महाधिवेशनपश्चात कांग्रेस नयाँ भएको छ, यो नयाँ कांग्रेससँग आगामी पाँच वर्ष काम गर्ने योजना, उत्साह र सङ्कल्प छ । हामीले विगतबाट सिकेका छौं, त्यसैले आगामी दिनमा के गर्ने भन्नेमा स्पष्ट छौं ।’
भेटघाटमा सभापति थापाले युवालाई स्वदेशमै राख्न रोजगारी सिर्जना गर्न नीति नियममार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने बताए ।
‘प्रत्येक वर्ष हामीले झन्डै पाँच लाख रोजगारी सिर्जना गर्नुपर्ने अवस्था छ । त्यो प्रधानमन्त्री वा सरकारले मात्र गर्न सक्दैन । त्यसका लागि हामीले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने हो, लगानीमैत्री वातावरण बनाउने हो, नीति नियममार्फत प्रोत्साहन गर्ने हो । पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा धेरै सम्भावना बढेका छन्, नेपालका युवालाई अझै दक्ष बनाएर विदेशी लगानीकर्तालाई आकर्षित गर्न सक्छौं । लगानीकर्तालाई चाहिने नीति, नियम र दक्ष जनशक्ति हामीसँग हुँदै गर्दा सहयोगी सरकार भएमा विश्वभरका लगानीकर्ता एकपटक नेपालमा लगानी गर्न प्रेरित हुनेछन् । म यिनै विषयमा आगामी पाँच वर्ष काम गर्न चाहन्छु,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्: