देशैभरको निर्वाचन क्षेत्रमा हेलिकोप्टरबाट गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय

२० फाल्गुन २०८२

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले बिहीबार हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ ।

गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो ।

बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानून विपरितका गतिविधि भए/गरेको पाइएका कानून बमोजिम तुरुन्त कारबाही गर्ने लगायतका निर्णय गरेको छ ।

यस्तै बैठकले निर्वाचनको सुरक्षा व्यवस्थापन चुस्त दुरुस्त बनाइएकाले सबैलाई भोलि हुने निर्वाचनमा ढुक्क भएर मतदानमा सहभागी हुन आव्हान गर्ने निष्कर्ष समेत निकालेको छ ।