गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया थाल्न कांग्रेसको माग
काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री सुदन गुरुङमाथि लागेका आरोपहरुको सत्यतथ्य छानबिन गर्न माग गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले सोमबार विज्ञप्ति जारी गरी यो राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न भएकाले छानबिन गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ’गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । अतः नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेछ।’
कांग्रेसले आफ्नो पार्टी सधैं पारदर्शिता, जवाफदेहिता र नैतिक राजनीतिको पक्षमा दृढतापूर्वक उभिएको छ र भविष्यमा पनि उभिरहने उल्लेख गरेको छ । गृहमन्त्री विचौलिसँगको कम्पनीको शेयर सदस्य रहेको र अस्वाभाविक सम्पत्ति रहेको सार्वजनिक भएपछि विवादमा परेका छन् । उनलाई बर्खास्थ गर्न सरकारकाथि दबाब परेको छ ।

प्रतिक्रिया दिनुहोस्: