वैदेशिक रोजगार विभागको नाममा अनधिकृत अनुगमन भए खबर गर्न आग्रह
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारी क्षेत्रमा हुने ठगी नियन्त्रणका लागि म्यानपावर कम्पनी तथा सम्बन्धित संस्थाको नियमित अनुगमन भइरहेको जनाएको छ ।
विभागले एक सूचना जारी गर्दै अनुगमनका लागि खटिने कर्मचारीलाई विभागको आधिकारिक पत्रसहित पठाइने र उनीहरूले परिचयपत्र देखाएर मात्रै अनुगमन गर्ने व्यवस्था रहेको जनाएको छ ।
आफ्नो कर्मचारी भएको दाबी गर्दै अनधिकृत रूपमा अनुगमन गर्ने, विभागको नाम लिएर फोनमार्फत धम्की दिने वा दबाब सिर्जना गर्ने व्यक्तिबाट सचेत रहन आग्रह गरेको छ । यस्ता गतिविधि भएमा तत्काल विभागमा जानकारी गराउन पनि अनुरोध गरिएको छ ।
विभागले महानिर्देशक, उपमहानिर्देशक तथा अनुगमन तथा जीटुजी सहजीकरण शाखाका निर्देशकको सम्पर्क नम्बरसमेत सार्वजनिक गर्दै शंकास्पद गतिविधि देखिएमा सम्पर्क गर्न आग्रह गरेको जनाएको छ ।
पछिल्लो समय विभागले म्यानपावर व्यवसायीमाथिको अनुगमन तथा नियमनमा कडाई गर्दै आएको छ । सरकारले निर्देशन अनुसार विभागले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण, ठगीमा परेका श्रमिकहरूलाई छिटो छरितो न्याय दिने उद्देश्यसहित विभागले यस्ता कार्यलाई तिब्रता दिइएको जनाएको छ ।
वर्तमान सरकारले विद्यमान कानुन कार्यान्वयको क्रममा कानुन विपरितका कार्यमा सून्यसहनशिलता लागू गरेको जनाएको छ । कानून विपरितका कार्यमा क्षम्य नहुनेसमेत प्रष्ट पार्दै आएको छ ।
विभाग तथा युवा, श्रम तथा रोजगार मन्त्रालयबाट नियमित अनुगमन तथा आकस्मिक अनुगमन हुन थालेपछि म्यानपावर व्यवसायी त्रसित बन्दै गएका छन् । उनीहरुले विभाग तथा मन्त्रालयबाट अनावश्यक दु:ख दिने, हैरानी दिने काम गरिरहेको आरोप लगाउँदै आएका छन् ।
व्यवसायीहरूको यस्तो गुनासोपछि विभागले नियमित अनुगमन भइरहेको र कहिँ, कतैबाट त्यस्तो खालको भएमा विभागमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: