इयूको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली संघ (ईयू) सदस्य राष्ट्रका राजदूतहरूको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । सोमबार परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा मन्त्री खनालले नेपालसँग इयूले निरन्तर गर्दै आएको विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु परिवर्तन, शिक्षा तथा जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्य थप सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले प्रभावकारी सेवा प्रवाह र भ्रष्टाचारविरुद्धको कडा अडानलाई सुशासनका प्रमुख आधारस्तम्भका रूपमा उल्लेख गर्दै तीव्र आर्थिक वृद्धिलाई सरकारको मुख्य प्राथमिकतामध्ये एक भएको बताए ।
मन्त्री खनालले लगानी सहजीकरण, निर्यात प्रतिस्पर्धात्मकता अभिवृद्धि तथा नवप्रवर्तन प्रवद्र्धनका लागि सरकारले आर्थिक सुधारका कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै जलविद्युत्, पर्यटन, पूर्वाधार विकास तथा सूचना प्रविधि क्षेत्रमा थप लगानी गर्न इयू सदस्य राष्ट्रहरूलाई आग्रह गरे ।
नेपालले हासिल गरेको प्रगति र जारी सुधार प्रयासलाई दृष्टिगत गर्दै उनले नेपाललाई इयूको हवाई सुरक्षा सूचीबाट हटाउने प्रक्रियामा सहयोग गर्न सदस्य राष्ट्रहरूलाई अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: