वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री प्यानलसहित बिजयी
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर खत्री (कुमार) निर्वाचित भएका छन् । खत्रीले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई पराजित गर्दै प्यानलसहित जित हासिल गरेका हुन् ।
खत्रीलाई नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेकपा निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च तथा नेपाली कांग्रेस निकट केही व्यवसायीको संयुक्त समर्थन रहेको थियो ।
आइतबार सम्पन्न मतदानको मतगणना राति अबेर सम्पन्न भएको थियो। अन्तिम मत परिणामअनुसार अध्यक्ष पदमा खत्रीले ३४७ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका उम्मेदवार मेघनाथ भुर्तेलले १९२ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका उम्मेदवार हरिबहादुर पाण्डे क्षेत्री ले १७० मत प्राप्त गरेका छन्।
मतगणना अनुसार प्रथम उपाध्यक्षमा महेश बस्नेत ( २४१ मत ), द्वितीय उपाध्यक्षमा अनिल बोगटी ( ३१५ मत ), तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल ( २५९ मत ), महासचिवमा हरि डॉगी ( २७३ मत ), सचिवमा केदार नाथ अधिकारी ( २९४ मत) र कोषाध्यक्षमा धनमायॉ सिन्जाली ( ३२३ मत ) प्राप्त गरी बिजयी भएका छन् ।
प्रगतिशील प्यानलले १७ सदस्यीय कार्यसमितिमा पदाधिकारी ७ मध्ये ६ जना र १० कार्यसमिति सदस्यमध्ये ८ सदस्य जितेको छ । एशोसिएशन प्यानलबाट तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल र दुई सदस्य गीता राउत र दीक्षा दाहालले जित हासिल गरेका छन् ।
निर्वाचन समितिका अनुसार कुल ७७४ मतदातामध्ये ७१९ जनाले मतदान गरेका थिए । लामो समयदेखि संघभित्र देखिएको नेतृत्व विवाद, संस्थागत अन्योल तथा विभिन्न राजनीतिक र व्यवसायिक समूहबीचको प्रतिस्पर्धाका बीच सम्पन्न निर्वाचनलाई वैदेशिक रोजगार क्षेत्रले निकै चासोका साथ हेरेको थियो ।निर्वाचित अध्यक्ष खत्री वैदेशिक रोजगार क्षेत्रका अनुभवी व्यवसायीका रूपमा परिचित छन् । उनी यसअघि संघको प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । संघको नेतृत्वमा पुग्नुअघि उनले व्यवसायीका विभिन्न मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्: