बालेनजीको खुट्टामा बल छ, फटाफट गोल हान्ने जिम्मा उहाँकै हो : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा पार्टीको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका हुन् ।
उनले भने, ‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ । बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ ।’
उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए । सभापति लामिछानेले सरकार चलाउनेबारे प्रधानमन्त्रीसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने बताए ।
उनले सरकार चलाउने जिम्मा बालेनकै भएको बताए । उनले भने, ‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन साहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको । झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’
उनले रास्वपालाई लडाउने तागत अरुसँग नभएको बताए । उनले भने, ‘रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरु कसैको तागत छैन । गुट र उपगुटले दिने फल विषालु हुनेछ । त्यो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने हुन्छ । हामी कस्ता बिउ रोप्ने भन्ने ठाउँमा उभिएका छौँ । समग्र रूपमा कुनै गुट र उपगुटमा नलागीकन विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर अगाडि बढ्ने हो भने फेरि पनि भन्छु– रास्वपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन । यो निर्धक्कसाथ भन्न सक्दछु ।’

प्रतिक्रिया दिनुहोस्: