शिक्षामा राजनीति भएको होइन, दलीयकरण भएको होः सभापति थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र यथार्थलाई ध्यानमा राख्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाली कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘शैक्षिक उन्नयनका सामयिक उपायहरू’ विषयक ग्रिन टेबल कार्यक्रममा सभापति थापाले आफूले निर्वाचनका क्रममा शिक्षा सुधारलाई मुख्य एजेन्डा बनाएको स्मरण गरे ।
उनले सर्लाही–४ मा मत माग्ने क्रममा विज्ञान र गणित शिक्षाको गुणस्तरका विषयमा निरन्तर कुरा गरेपनि त्यसले अपेक्षित रूपमा जनचासो नपाएको उल्लेख गरे ।
काठमाडौं–४ बाट सांसद रहँदा शिक्षा क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै उनले काठमाडौं र सर्लाहीको शैक्षिक अवस्थाबीच ठूलो अन्तर रहेको बताए ।
उनले भने,‘हामी नेपालको शिक्षा प्रणालीको कुरा गर्छौं, तर काठमाडौं र सर्लाहीका शैक्षिक चुनौती एउटै छैनन् । एउटै नेपाल भए पनि दुवै ठाउँका समस्या फरक छन् । त्यसैले नीति बनाउँदा स्थानीय वास्तविकतालाई ध्यानमा राख्नुपर्छ ।’
सभापति थापाले शिक्षकहरूलाई विद्यालयभित्र आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न आग्रह गर्दै त्यसले नै समाज र लोकतन्त्रलाई सबैभन्दा ठूलो योगदान पुग्ने बताए।शिक्षकहरूले आफ्नो भूमिकाभन्दा बाहिर गएर थप जिम्मेवारी र नेतृत्व प्रदर्शन गर्न सके त्यसले देश र नेपाली कांग्रेस दुवैलाई लाभ पुग्ने उनको भनाइ थियो।
उनले शिक्षा क्षेत्रको उद्देश्यबारे राजनीतिक दलहरूबीच गम्भीर बहस आवश्यक रहेको पनि बताए। उनले भने, ‘शिक्षा किन र कसका लागि भन्ने विषयमा राजनीतिक दलहरूले नै स्पष्ट छलफल गर्नुपर्छ। यो जिम्मेवारी अरू कसैले पूरा गर्न सक्दैन ।’
शिक्षामा राजनीतिक हस्तक्षेपको आलोचना गर्दै सभापति थापाले समस्या राजनीति नभई दलीयकरण भएको जिकिर गरे । विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक नियुक्ति तथा विद्यालय सञ्चालनमा दलगत प्रभाव हाबी हुँदा शिक्षा प्रणाली कमजोर बनेको उनको भनाइ थियो ।
उनले भने, ‘शिक्षामा राजनीति भएको होइन, दलीयकरण भएको हो। व्यवस्थापन समितिमा आफ्नै मान्छे, प्रधानाध्यापक पनि आफ्नै मान्छे भन्ने सोचले शिक्षा प्रणालीलाई सबैभन्दा ठूलो क्षति पुर्याएको छ । अब ‘हाम्रो मान्छे’ भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्: