वाग्मती प्रदेश : बजेट पारित गराउन कांग्रेसको तीनबुँदे ह्वीप
हेटौंडा । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक पारित गराउन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ ।
कांग्रेस संसदीय दलको बैठकले बजेट पारित गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ह्वीप जारी गरेको हो ।कांग्रेसभित्र बजेटलाई लिएर देखिएको विवादका बीच संसदीय दलले सबै सांसदलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भएर बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
कांग्रेस वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक पुकार महर्जनले शनिबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकलाई लक्षित गर्दै ह्वीप जारी गरेका हुन् ।ह्वीपमा आर्थिक मामिला तथा योजना मन्त्रीले पेस गरेको आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक निर्णयार्थ पेस हुने भएकाले सबै सांसदलाई अनिवार्य रूपमा उपस्थित हुन, मतदानका क्रममा तटस्थ नबस्न र विधेयकको पक्षमा मत जाहेर गर्न निर्देशन दिइएको छ ।
कांग्रेस संसदीय दलले बजेट पारित हुने निर्णायक चरणमा सांसदहरूको अनुपस्थितिले सरकारलाई अप्ठ्यारो पर्न सक्ने अवस्था देखिएपछि ह्वीप जारी गरेको हो ।
पछिल्ला केही दिनदेखि कांग्रेसभित्र मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूहबीच बजेट तथा सरकारको नेतृत्वलाई लिएर विवाद चर्किएको छ ।लामा पक्षधर केही सांसद प्रदेशसभा बैठकमै अनुपस्थित रहँदै आएका छन् । बजेट पारित प्रक्रियामा असहयोग गर्ने संकेतसमेत दिएका थिए ।
यसैबीच, मुख्यमन्त्री बानियाँले यसअघि नै पार्टीको ह्वीप जारी भएपछि सबै सांसद बजेट पारित प्रक्रियामा सहभागी हुने विश्वास व्यक्त गरेका थिए ।कांग्रेसले तीनबुँदे ह्वीप जारी गरेसँगै पार्टीभित्रको विवाद तत्कालका लागि व्यवस्थापन गर्दै बजेट पारित गराउने प्रयास गरेको देखिएको छ ।
वाग्मती प्रदेशसभामा शनिबार बस्ने बैठकमा मन्त्रीहरूले बजेटमाथि उठेका प्रश्नको जवाफ टुंग्याएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने कार्यसूची छ ।

प्रतिक्रिया दिनुहोस्: