सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योग संचालनको तयारी

२३ असार २०८३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन भइरहेको बताएकी छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सातवटा रुग्ण सरकारी उद्योगको सम्पत्ति तथा दायित्व मूल्याङ्कन अघि बढिरहेको जानकारी दिइन् ।

‘हेटौँडा कपडा उद्योगलाई आयात प्रतिस्थापन, आत्मनिर्भरता विकास र रोजगारी सृजना गर्ने तथा अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउने माध्यमका रूपमा विकास गर्नेगरी सञ्चालन गर्न खोजेका छौँ’, उनले भनिन् ।

उद्योगमन्त्रीले अन्तरमन्त्रालय र अन्तर–तह समन्वय थप प्रभावकारी बनाई निजी क्षेत्रको मनोबल उच्च बनाउँदै उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिका लागि मन्त्रालय क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरिन् ।

लगानी संरक्षण तथा प्रवद्र्धन रणनीति मन्त्रिपरिषद्बाट स्वीकृत हुने चरणमा रहेको जानकारी गराउँदै उनले  सो रणनीतिले निजी सम्पत्तिको संरक्षण, लगानी संरक्षण र उद्योग प्रतिष्ठानलाई शान्ति क्षेत्रका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिन् ।

‘विगतको आन्दोलनका क्रममा भएको क्षतिको कारण बन्द एवं रुग्ण उद्योग व्यवसायलाई पुनः सञ्चालन ल्याउन विभिन्न छुट सुविधा तथा सहुलियतको व्यवस्थासमेत रणनीतिले गरेको छ’, उनले भनिन् ।

रोजगार आबद्ध उत्पादन क्षेत्र कार्यक्रमअन्तर्गत यसअघि घोषणा भएका औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न प्लट उपलब्ध गराई थप रोजगारी सृजना गर्ने उद्देश्यका साथ कार्यान्वयनमा ल्याइने उद्योगमन्त्रीले जानकारी दिइन् ।

देशको औद्योगीकरणका लागि विभिन्न स्थानमा स्थापित १० वटा औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरूलाई थप व्यवस्थित गरी सञ्चालन गर्ने प्रक्रिया मन्त्रालयले सुरु गरिसकेको उनको भनाइ छ ।