‘नयाँ पुस्ताले इतिहास र त्यसमा योगदान दिने व्यक्तित्वलाई चिन्न, बुझ्न नसक्नु दुर्भाग्य’

१७ श्रावण २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले जेनजी आन्दोलनका क्रममा मुलुकको राजनीतिक र बौद्धिक सम्पदामा क्षति पुगेको बताएका छन् ।

तुलसीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा नेपालले जेनजी आन्दोलनका क्रममा विभिन्न महत्वपूर्ण दस्तावेज, नेताहरूका घर तथा सरकारी भवनमा आगजनी भएको भन्दै उक्त घटनाको असर विभिन्न संस्थाले भोग्नुपरेको बताए ।

उनले नेकपा एमालेको पुस्तकालय तथा त्यहाँ रहेका बहुमूल्य पुस्तकसमेत आगजनीबाट नष्ट भएको उल्लेख गरे । नेता नेपालले मुलुकको राजनीति र इतिहासमा योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूको सम्मान गर्नुपर्नेमा जोड दिए । नयाँ पुस्ताले इतिहास र त्यसमा योगदान दिने व्यक्तित्वलाई चिन्न, बुझ्न र सम्मान गर्न नसक्नु दुःखद विषय भएको उनले बताए ।

उनले भने, ‘जुन देशमा नयाँ पुस्ताहरूले पुरानो पुस्ताको सम्मान गर्न सक्दैनन्, इतिहासमा महत्वपूर्ण योगदान गर्ने को हुन्, को होइनन् भन्ने कुरा बुझ्न पनि सक्दैनन्, तिनीहरूको कदर पनि गर्न जान्दैनन् भने त्योभन्दा लाजमर्दो कुरा अरू केही हुन सक्दैन ।’