संवैधानिक निकायमा नियुक्ति विवादमा सुनुवाइ जारी

८ बैशाख २०८२

काठमाडौं । संवैधानिक निकायमा ५२ जनाको नियुक्ति विवादमा आज दोस्रो दिनको सुनुवाइ सुरू भएको छ। वैशाख ३ गते ’हेर्दाहेर्दै’मा राखिएको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह,न्यायाधीशहरू सपना मल्ल प्रधान, डा.मनोजकुमार शर्मा,डा.कुमार चुडाल र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासमा वैशाख ३ गतेदेखि सुनुवाइ सुरू भएको हो।

सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा ५२ जनाको नियुक्ति बदरको माग गर्दै दायर रिट निवेदनमाथिको सुनुवाइ आइतबारदेखि सुरू गरेको हो।२०७७ मंसिर ३० र त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा अध्यादेश जारी गरी पटक/पटकगरी विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी तथा सदस्य नियुक्त भएका थिए।

प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक सुनुवाइबिना नै संवैधानिक निकायमा नियुक्ति र सपथ गराउनु गैरसंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,अधिवक्ता ओपप्रकाश अर्याल,सम्रित खरेललगायतले ५२ जना पदाधिकारीहरूको नियुक्ति असंवैधानिक रहेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा राष्ट्रपति कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषद्लाई विपक्षी बनाइएको छ । त्यस्तै संवैधानिक परिषद्मा गरिएका नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटाले पनि रिट दायर गरेका थिए । दुवै रिटलाई एकसाथ राखेर सर्वोच्चले सुनुवाइ सुरू गरेको हो।