देउवा परिवार आज स्वदेश फर्किँदै, सत्ता गठबन्धन ढलमल हुनसक्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा आज स्वदेश फर्किँदैछन् । थाइल्याण्ड भ्रमणमा देउवा दम्पती एक साता लामो बसाइपछि शुक्रबार दिउँसो काठमाडौंमा अवतरण गर्न लागेका हुन् । सभापति देउवा उपचारको लागि थाइल्यान्ड गएका हुन् भने परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप)को ८१ औँ सम्मेलनमा सहभागी थाइल्यान्ड पुगेकी हुन् ।
देउवा दम्पतीको यो स्वदेश फिर्तीलाई किन अर्थपूर्ण मानिएको छ भने नेपालमा सरकार फेरबदलको तीव्र चर्चा चलिरहेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्रै असन्तुष्टि बढ्दैजाँदा सरकार नै संकटमा पर्दै गएको र देउवा दम्पतीको यसमा निर्णायक भूमिका रहने बताइएको छ ।
कांग्रेस र एमालेबीच गत १७ असारमा भएको सातबुँदे सहमतिपश्चात् यो गठबन्धन सरकार बनेको थियो, जसमा देउवा दम्पती नै लागेका थिए । अहिले आएर प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत रुष्ट छन् र सार्वजनिक कार्यक्रममै सरकारको विरोध गरिरहेका छन् ।
बिहीबार मात्रै महामन्त्री गगन थापाले गठबन्धन सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । उनले भनेका थिए, ‘हाम्रा केही आधारभूत कुराहरू छन् त्यो पूरा नहुने अवस्था भए सरकारबाट बाहिरिने छौँ ।’ यो बीचमा सभापति देउवा विदेशमै रहेका बेला यता प्रधानमन्त्री ओलीले कांग्रेसबाट उर्जाराज्यमन्त्री बनेका पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्। यसले कांग्रेस पक्षमा तिक्तता छाएको छ ।
ओली नेतृत्व सरकार नै संकटमा पर्दै गएको चर्चाका बीच नयाँ समिकरणको खोजीमा लागेका प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सभापति देउवाकै प्रतीक्षामा रहेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्: