प्रहरीले सांसद राई पक्राउ परेकोबारे सभामुखलाई गरायो जानकारी
१४ बैशाख २०८२

काठमाडौँ । नेपाल प्रहरीले नेपाली काँग्रेसकी सांसद माया राई पक्राउ परेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ । जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउ गरिएकोबारे जानकारी गराएको हो ।
राईलाई गएराति काठमाडौँको कपनमा रहेको निवासबाटै प्रहरीले पक्राउ गरेको हो । उनी स्वर्णलक्ष्मी बचत ऋण सहकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।
पक्राउ परेकी राईमाथि कालिमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसूरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । राईविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन् ।
प्रतिक्रिया दिनुहोस्: