सरकारको नीति तथा कार्यक्रमप्रति सत्तापक्षकै सांसदहरु असन्तुष्ट, नयाँपन केही नआएको प्रतिपक्षीको टिप्पणी

१९ बैशाख २०८२

काठमाडौं । आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि देखाउँदै सांसदहरुले नयाँपन केही नआएको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रमप्रति प्रतिपक्षी नेताहरुले मात्रै असन्तुष्टि जनाएका छैनन्, सत्तापक्षका नेताहरुकै चित्त बुझेको छैन ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले आशा र भरोसाको वातावरण सिर्जना गर्न नसकेको बताए । संघीय संसद् परिसरमा नीति तथा कार्यक्रमबारे संक्षिप्त प्रतिक्रिया दिँदै उनले बलियो आँटसहित नआएको टिप्पणी गरेका हुन् । उनले भने, ‘कमजोर नै छ त भन्दिनँ । जुन खालको दह्रो आँटसहित यो समयसिमाभित्र यसरी जान्छौं भन्ने आशा भरोसाको वातावरण सिर्जना गर्नुपर्ने हो त्यो मैले देखिनँ ।’

यस्तै, नीति तथा कार्यक्रमबारे पत्रकारहरुसँग प्रतिक्रिया दिँदै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा नयाँपन केही पनि नभएको टिप्पणी गरे । ‘मेलै हेर्दा नयाँपन केही पनि छैन,’ उनले भने, ‘यो परम्परागत छ ।’ प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै नयाँपन नल्याएको गुनासो गरे ।

‘नीति तथा कार्यक्रमले खासै केही नयाँपन देखिएन । यो अत्यन्तै सरकार थाकेर, हारेर कल्पनाशीलता गुमाएर केही पनि नयाँ सिर्जनशील कामको घोषणा गर्न सकेको छैन,’ उनले भने, ‘०७४ को चुनावपछि दुई तिहाइको सरकार बन्दा पूरा गर्न नसकिने हावादारी भएपनि सुन्दा रमाइलो लाग्ने कार्यक्रम देखिन्थ्यो । तर, आज यो सरकारमा कल्पनाशीलता कतै पनि देखिँदैन ।’ पछिल्लो केही दशकदेखि सुनेका कार्यक्रमले अहिले पनि निरन्तरता पाएको उनले बताए ।