प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै पनि कार्यक्रममा सहभागी नहुने मेयरबालेन शाहको घोषणा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा सहभागी नहुने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीको ‘भ्रष्ट प्रणाली’लाई समर्थन नगर्ने बताएका हुन् ।
मेयर शाहले राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशका सबै पार्टीका नेताहरू भ्रष्टाचारी जोगाउन लागिपरेको आरोप लगाएका छन् । उनले भने, “जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टीका सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छन्, त्यस्तो नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?”उनले थपे, “माफ गर्नुहोस्, म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिनँ।” यो घोषणाले राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिँदा मेयर बालेनलाई पनि निम्तो गरिएको थियो, तर गएनन् । उनलाई नदेखेपछि प्रधानमन्त्री ओलीले खोजी गरे । उक्त बैठकमा उपमेयर सुनिता डंगोल सहभागी थिइन् ।
बैठकमा प्रधानमन्त्रीले बालेन शाहको नाम नलिए पनि यस्ता महत्त्वपूर्ण बैठकमा काठमाडौंकै जनप्रतिनिधि नै अनुपस्थित हुनु राम्रो नभएको भन्दै आगामी बैठकहरूमा उपस्थित हुन निर्देशन दिएका थिए । साथै नआउने भए नाम नै हटाउन भनेका थिए । ‘कहिले नआउने, नाम राखिरहनुपर्ने, मानका खातिर मानका चलन छोड्नुपर्छ कि क्या हो?, ’ उनले भनेका थिए, ‘केहीकेही मान्छे सधैँ राख्ने गर्छौँ हामीमले हरेक फन्क्सनमा। कहिले देखा पनि पर्दैनन्, केही गर्दैनन्, त्यस्तो खालको मान्छे खोज्यो पनि भेटिन्छ जस्तो लाग्छ मलाई। कि तपाईँहरू सोध्नुस् आउने हो कि होइन, रूची छ कि छैन ।’

प्रतिक्रिया दिनुहोस्: