जेठ १५ को आन्दोलन हिंसात्मक नहुने राजेन्द्र लिङ्देनको दावी
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरू हुने आफूहरूको आन्दोलन हिंसात्मक नहुने दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरू हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताए ।
सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए । उनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरूलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए ।
अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने उल्लेख गरे । यसपटक आफूहरूको आन्दोलनलाई टुंगोमा पुराएरै छाड्ने उनले दावी गरे । त्यस्तै केहि दिनअघि प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधनका क्रममा हामी त बुढो भयौं,तपाईं चाहिँ भाग्न मिल्छ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरूलाई हेलिकोप्टर सुविधा दिने टिप्पणी गरे ।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफूहरूको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताए । अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरूले खाने उनले बताए । उनले अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरे । अध्यक्ष थापाले जनताको उपस्थितिबाटै भ्रष्ट शासकहरूलाई पराजित गर्ने र आफ्ना एजेण्डा स्थापित गराएरै छाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्: