पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रिय सभामा पेस

८ जेष्ठ २०८२

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले प्रतिवेदन पेस गरेकी हुन् ।

बैठकमा राष्ट्रिय सभा सचिव डा. सुरेन्द्र अर्यालले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गरे ।

राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सभाबाट विसं २०८० माघ २९ गते पारित भएको थियो । यो विधेयक प्रतिनिधिसभाबाट यही जेठ ४ गते पारित भएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराए ।