लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

११ जेष्ठ २०८२

दाङ । लुम्बिनी प्रदेशमा नीति तथा कार्यक्रम पारित भएको छ। प्रदेश सरकारले लुम्बिनी प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज बहुमतबाट पारित भएको हो ।

शुक्रबारदेखि प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु भएको थियो । प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकासलगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको थियो ।

जेठ ५ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रदेशको विकासका लागि उत्कृष्ट भन्दै त्यसलाई बजेटमार्फत सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रमलाई पूर्ण कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । ‘ नीति तथा कार्यक्रममाथि रचनात्मक सुझाव प्राप्त भएको छ ।

यहाँहरूले दिएका सुझावलाई भोलिका दिनमा सरकारको तर्फबाट, विषयगत मन्त्रालयमार्फत सम्बोधन गर्ने छौँ,’ उनले भने, ‘नीति तथा कार्यक्रम सरकारको दिशा निर्देशन गर्ने कार्यक्रम हो । आगामी आर्थिक वर्षको बजेटमा कार्यक्रमगत र आयोजनागत रूपमा सम्बोधनको विनियोजन विधेयक ल्याइनेछ ।’

मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रम वास्तविक धरातलमा आधारित, कार्यान्वयन योग्य र विगतका योजनाहरूको विश्लेषण, साधन स्रोतको सीमा, अन्तरसम्बन्ध तथा तीन तहका सरकारबीचको समन्वय र साझेदारीको संवैधानिक दायरा मनन गरेर तयार पारिएको जानकारी दिए ।