पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बेइजिङमा भव्य स्वागत

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले भव्य स्वागत गर्नुको साथै विदेशी सरकार प्रमुख सरहको सम्मान दिएको छ । नेपाल सरकार र नेकपा एमालेको संयुक्त टोलीको नेतृत्व गरेर बेइजिङ पुगेकी भण्डारीलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको हो ।
नेकपा एमालेका विदेश विभाग सचिव रघुवीर महासेठ र उद्योगमन्त्री दामोदर भण्डारीसमेत रहेको प्रतिनिधि मण्डलको सम्पूर्ण तालिका र कार्यक्रमको योजना चीन सरकारले नै तय गरेको छ ।
पूर्वराष्ट्रपति भण्डारीको भ्रमणदललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ ।
आजै साँझ पूर्वराष्ट्रपतिको सम्मानमा चिनियाँ पक्षले बैंक्वेट डिनर आयोजना गरेको छ । सो समारोहमा चीनका सरकारी तथा कम्युनिस्ट पार्टीका नेताहरूका साथै अन्य छिमेकी देशका नेताहरू समेत सहभागी हुनेछन् ।
बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्: