विपक्षीको अवरोधपछि संसद बैठक आधा घण्टाका लागि स्थगित

काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि संसद बैठकमा हंगामा भएको छ । त्रिभुवन विमानस्थल हुँदै ‘भिजिट भिसा’का नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा अवरोध जनाएका छन् ।
उनीहरूले गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको कामकारवाहीलाई अघि बढाउन नदिने अडान राखेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरू हुने वित्तिकै प्रतिपक्षी दलका सांसदहरूले गृहमन्त्री लेखकमाथि चौतर्फी प्रश्न उठिसकेकाले नैतिकताका आधारमा तुरून्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका छन् ।
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले गम्भीर प्रश्न उठिसकेको भन्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गरी छानबिन गर्ने वातावरण बनाइदिन आग्रह गरे । रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने चेतावनी दिए ।
विपक्षी दलका सांसद पुन र खनालले बोलिसकेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिएका थिए। तर, विपक्षी सांसदहरू उठेर नाराबाजीमा उत्रिएपछि सभामुखले बैठक स्थगित भएको घोषणा गरे ।
प्रतिक्रिया दिनुहोस्: