प्रमुख सचेतकहरूसँग सभामुखको छलफलः गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने विपक्षीको अडान

१७ जेष्ठ २०८२

काठमाडौं। सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज दलका मुख्य सचेतक र प्रमुख सचेतकहरूसँग उनले छलफल गरेका हुन् । बैठकमा बजेटमाथिको छलफल र आगामी क्यालेन्डर बनाउने विषयमा छलफल भएको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । उनले बैठकमा सदनको अवरोध हटाउनबारे ठोस छलफल नभएको बताए ।

प्रमुख सचेतक घिमिरेले बजेट प्रस्तुतमा विपक्ष दलहरूले सहजीकरण गरेको भन्दै पारित गर्नु पनि संवैधानिक दायित्व भएकाले विपक्ष दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हिजो बजेट प्रस्तुत गर्नको लागि उहाँहरूले सहजीकरण गर्नुभयो । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक दायित्व थियो। संवैधानिक दायित्व पूरा गर्ने कुरामा उहाँहरूले जिम्मेवारी बोध गर्नुभयो । प्रस्तुत गर्नुमात्रै होइन पारित गर्नुपर्ने संवैधानिक दायित्वभित्र पर्छ । त्यो कुरा उहाँहरूले बोध गर्नुहुन्छ भन्ने विश्वास गरेका छौँ ।’

प्रमुख सचेतक घिमिरेले बजेटमाथिको छलफललाई अगाडि बढाउन विपक्ष दलहरूले वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे
। तर विपक्ष दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म सदन अगाडि बढाउन नदिने अडान राखेका छन् । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफूहरूका माग पूरा नहुँदासम्म सदन चल्न नदिने बैठकमा आफ्नो कुरा राखेको बताए । उनले विपक्षका माग पुरा नहुँदासम्म संसद्को अवरोध जारी रहने जानकारी गराएको बताए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने अडान राखेको बताए ।