गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ नियमावली स्थगन गरेपछि मात्र गाडी चल्ने

काठमाडौं । आन्दोलनतरत सार्वजनिक यातायात व्यवसायी र सरकारबीच मध्यरातमा सहमति भएको छ । गण्डकी प्रदेश सरकारले जारी गरेको ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न सरकारले पत्राचार गर्ने भएपछि दुई पक्षबीच सहमति भएको हो ।
मध्यरातमा दुई पक्ष बिच सहमति भए पनि मंगलबार बिहानसम्म सडकमा सार्वजनिक यातायातका साधन चलेका छैनन् ।
गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारीक जानकारी गराइसकेपछि मात्रै गाडी चलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।
उनका अनुसार मध्यरातमा सरकार र व्यवसायीबीच गठन भएको संयुक्त कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सहमतिको जानकारी गराउने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जानकारी दिने र प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई स्थगनका लागि पत्राचार गर्ने सहमति भएको छ ।
‘यो सबै प्रक्रिया पूरा हुन आज दिनभरजसो समय लाग्नसक्ने भएकाले अहिल नै गाडी नचलाएका हौँ । जति चाँडो गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेको औपचारीक जानकारी दिन्छ । हामीले पनि त्यहि अनुसार गाडी चलाउन अनुमती दिन्छौँ, ’ उनले भने ।
यातायात व्यसायीले यसअघि आन्दोलन घोषणा गर्दा मागमा राखेका सात वटै बुँदा सम्बोधन हुनेगरी सहमति भएको स्वाँरले बताएका छन् ।
गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका निजी प्रयोजनका लागि दर्ता भएका चार पांग्रे र दुई पांग्रे सवारी साधनलाई समेत सार्वजनिक यातायात सरह यात्रु बोक्न पाउने गरी नियमावली जारी गरेको थियो । सोही अनुसारको व्यवस्था अन्य प्रदेशले समेत अपनाउने भएपछि यातायात व्यवसायी आन्दोलित बनेका थिए ।
व्यवसायीको आन्दोलनका कारण सोमबार दिनभर यात्रुहरुको बिचल्ली भएको थियो ।
प्रतिक्रिया दिनुहोस्: