प्रतिनिधि सभाको बैठक बस्दै, प्रतिपक्षीको अवरोध हट्ला ?

काठमाडौं, २९ जेठ । संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
छैटौँ अधिवेशनको २७औँ बैठक बिहीबार दिनको ३ बजेका लागि बोलाइएको हो । तर केही दिनदेखि संसद् अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।
‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका विपक्षी दलहरूले लगातार संसद बैठक अवरुद्ध गर्दै आएका छन् । सोही कारण बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न नसकेको हो । पटक–पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा आ.व. २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने कार्यसूची छ ।
त्यस्तै, राज्य व्वस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्: