वीरगञ्ज अदालतमा सुरक्षा व्यवस्था कडा, यता न्यायधिस समाजले भन्यो, न्यायधिसलाई मोसो दल्नु न्यायपालिका माथी आक्रामण

३१ जेष्ठ २०८२

वीरगन्ज । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा सुरक्षा निगरानी बढाइएको छ । विहीबार दिउँसो न्यायाधीश खुशीराम थारुमाथि नेकपा बहुमतका कार्यकर्ताहरूले इजलासमै मोसो छ्यापेपछि उत्पन्न सुरक्षाको असहज परिस्थिति कारण देखाउँदै अदालत प्रवेशमा समेत कडाइ गरिएको छ ।

पर्साका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार घटनापश्चात् अदालतमा कार्यरत १३ जना न्यायाधीशका प्रमुख सुरक्षा अधिकृत (पीएसओ) हरू परिवर्तन गरिएका छन् । त्यस्तै अदालतको समग्र सुरक्षामा खटिएको प्रहरी सहायक निरीक्षकको कमान्डको १० जनाको प्रहरी टोलीलाई फिर्ता बोलाइएको छ ।

उपरीक्षक लम्सालले फिर्ता बोलाइएका पीएसओको सट्टा नयाँ पीएसओ पठाइएको जानकारी दिँदै अदालतको सुरक्षाका लागि पहिले १० जना प्रहरी खटिएकामा अब १५ जना पठाइएको बताए । यो सुरक्षा फेरबदलसँगै अदालत प्रवेशमा विशेष निगरानी बढाइएको छ ।

अब अदालत पुग्ने सेवाग्राही, सर्वसाधारण र कानून व्यवसायीहरूलाई समेत अदालतको मूल गेटमै राम्रोसँग चेकजाँच गरेर मात्र भित्र प्रवेश दिइएको छ । यता उच्च अदालत, वीरगञ्ज इजलासका न्यायाधीश डा‍‍. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि इजलासमै मोसो प्रहार भएको घटनाप्रति न्यायाधीश समाजले आपत्ति जनाएको छ।

समाजले शुक्रबार विज्ञप्ति जारी गरी न्याय सम्पादनको सिलसिलामा इजलासमा काम गरिरहेको अवस्थामाथि न्यायाधीशहरुमाथि आक्रमण हुनुलाई निन्दनीय भनेर टिप्पणीसमेत गरेको छ । समाजले सो मोसो दल्ने जस्तो घृणित आक्रमणलाई न्यायाधीशमाथि मात्रै नभई सिंगो न्यायपालिका माथिकै आक्रमणको रूपमा टिप्पणीसमेत गरेको छ ।

साथै, समाजले सो घटनामा संलग्नलाई कानूनी दायरामा ल्याई कारवाही गर्न मागसमेत गरेको छ । हिजो नेकपा बहुमतका कार्यकर्ताहरु उच्च अदालतको बीरगञ्ज इजलासमा गएर न्यायाधीशद्दय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए ।

ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्वद आफ्ताव आलम लगायतलाई सफाई दिएको भन्दै उनीहरुले इजलासमै न्यायाधीशहरुमाथि दुव्र्यवहार गरेका थिए । प्रहरीले सो घटनामा संलग्न रहेका तीन जनालाई पक्राउ गरिसकेको छ ।