अमेरिकी संघीय पुनरावेदन अदालतद्वारा टीपीएस अन्त्य गर्न अनुमति, सात हजार नेपाली प्रभावित हुने

५ भाद्र २०८२

सान फ्रान्सिस्को । अमेरिकी संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गर्दै करिब ६० हजार आप्रवासीलाई दिइएको टेम्पोररी प्रोटेक्टेड स्टेटस (टीपीएस) सुविधा अन्त्य अन्त्य गर्न अनुमति दिएको छ । यससँगै नेपालका करिब ७ हजार आप्रवासी निष्कासनको जोखिममा परेका छन् ।

यस्तै, होन्डुरसका ५१ हजार र निकारागुवाका ३ हजार आप्रवासी कानुनी स्थिति आगामी सेप्टेम्बर ८ मा सकिँदैछ । अदालतले तल्लो अदालतले दिएको संरक्षण आदेशलाई स्थगित गर्दै केसको थप सुनुवाइका लागि मिति तोकेको छ । अप्रवासी अधिकारकर्मीहरूले दशकौँदेखि अमेरिकामा बसोबास गर्दै आएका नेपाली, होन्डुरस र निकारागुवाका नागरिकलाई एकाएक कागजातविहीन बनाइएको भन्दै आपत्ति जनाएका छन् ।

तर प्रशासनले देशको अवस्था अब सुरक्षित भएकाले संरक्षण आवश्यक नभएकाले कार्यक्रम अन्त्य गरेको जनाएको छ । यसअघि ट्रम्प प्रशासनले भेनेजुएला, हैटी, युक्रेन, अफगानिस्तान र क्यामरूनका लाखौं आप्रवासीहरूको टीपीएस अन्त्य गरिसकेको छ।