सरकारको गाडी हाँकिरहेका शीर्ष नेताहरूलाई दुर्घटनामा नपार्न गगन थापाको आग्रह

५ भाद्र २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कामको गति सुस्त भएको भन्दै आलोचना गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री थापाले संविधान संशोधन गर्ने वाचा अनुसार सरकार अगाडि नबढेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले सरकारले काम नगर्दा आफूहरुले गाली खानुपरेको बताए ।

उनले संविधान संशोधन अघि बढाउने भनेर सहमति गरेपनि यसमा सिन्को समेत नभाँचेको बताए । उनले भने, ‘७ बुँदे सहमति यो दुईटा पार्टीको सहमतिको मुख्य आधार हो । तर हामीले सिन्का पनि भाँचेका छैनौँ। अझ हामी आजभोलि के भन्न थालेका छौँ– राष्ट्रिय सभाको चुनाव हुन्छ। त्यहाँ बहुमत आउँछ अनि गर्छौं । हामीले यो भन्न पाउँछौँ? पाउँदैनौँ।’ महामन्त्री थापाले संविधान संशोधनको विषयमा माओवादीलाई जोड्नुपर्ने बताए ।

महामन्त्री थापाले सरकारको गाडी हाँकिरहेका शीर्ष नेताहरूलाई दुर्घटनामा नपार्न आग्रह गरे । उननले भने, ‘हामी एउटै गाडीमा सवार छौं, तर ड्राइभिङ सिटमा दुई जना नेताहरू हुनुहुन्छ । अहिलेको र हुनेवाला प्रधानमन्त्रीले यो गाडी चलाइरहनुभएको छ । यो गाडी ठिक गतिमा जाओस् । अलमल नहोस्, ढलमल नहोस् । दुर्घटना नहोस् ।’

महामन्त्री थापाले बाहिरबाट ढुंगा हानेको र हिलो छ्यापेको भन्दै त्यसलाई आफूहरूले रोक्ने तर स्टेरिङ समाएका नेताहरूले ठिक काम गर्नपर्ने बताए । उनले भने, ‘बाहिरबाट ढुंगा हानेका छन्, हिलो छ्यापेका छन् । त्यसलाई हामी रोक्छौं । तर, स्टेरिङ चलाउने त ठिक ढंगले चलाउनुपर्यो । कहिलेकाहीँ घ्याच्च रोकिदिएको छ, कहिले भिरतिर उक्लिएको छ । म सँग गाडीको स्टेरिङ छ भनेर जता पनि हिँडिदिएको छ ।’

महामन्त्री थापाले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै सिंगो देश एउटा ठगी अभियुक्तको अघिपछि घुमेको टिप्पणी गरे । उनले भने, ‘कांग्रेस, एमाले, माओवादीमा आबद्ध भएका दर्जनौँ मान्छेहरू कोही धरौटीमा छुटे, कोही थुनामा छन्, कोही फरार छन्। गोर्खा मिडियामा आबद्ध भएका मान्छेहरू पनि भित्र छन्। तर एउटा ठगीको अभियुक्तको वरिपरि बहस घुमेको छ।’

उनले सातवटा अदालतले छाड्न अस्वीकार गरेको अभियुक्तलाई भेट्न पूर्वप्रधानमन्त्रीहरुको दौड चलिरहेको भन्दै आपत्ति जनाए ।