‘जेनजी युवाहरुले उठाएका माग संविधान र संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्छ’

२६ भाद्र २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको बताएका छन् ।

बिहीबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले लोकतन्त्रको विकल्प अझ बढी सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हुने भन्दै जेन–जी आन्दोलनका एजेण्डाहरूले उन्नत लोकतन्त्रको माग गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘जेनजी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ,’विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो। जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै। उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं।’

प्रचण्डले कमजोरीका वावजूद पनि सामाजिक न्याय, समावेशिताको सवालमा अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान रहेको बताए । उनले समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्र समुन्नत लोकतन्त्रको विकास हुने बताए ।

प्रचण्डले भनेका छन्, ‘सुशासनको डरले आजभन्दा १४ महिनाअघि कांग्रेस र एमालेले मध्यरातमा सुरु गरेको असंवैधानिक र अप्राकृतिक गठबन्धनको पटाक्षेप दुःखद रुपमा तपाई हाम्रासामु देखिएको छ। भ्रष्टाचारविरुद्ध सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा मेरो नेतृत्वको सरकारले चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहहरूको सेवामा गठबन्धन सरकार तल्लीन भएकै कारण जनताको आक्रोशले चरम रूप लियो ।’

उनले जेनजी पुस्ताका युवाहरूको आवाजलाई बर्बर तरिकाले कुल्चिन सरकारले भयानक नरसंहार मच्चाएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘सामाजिक सञ्जाल प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले सुरु गरेको आन्दोलन सही थियो तर त्यसमाथि सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चायो ।’ उनले जेनजी युवाहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाटै खोजिनुपर्ने बताएका छन् ।

उनले अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने बताए ।

उनले भनेका छन्, ‘हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।’