निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय, महाधिवेशनबारे अनिर्णित

७ मंसिर २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको छ । शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।

महामन्त्री गगन थापाका अनुसार बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा भाग लिने निर्णय गरेको हो । बैठकले दुवै निर्वाचन प्रयोजनका लागि पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णयसमेत कांग्रेसले गरेको छ । तर कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उक्त विषय सर्वोच्च अदालतले नै टुङ्गो लगाउने पनि जनाएको छ ।

कांग्रेसले सरकारलाई निर्वाचनको वातावरण बनाउन, जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू फिर्ता ल्याउन र फरार भएका कैदीहरूलाई पनि पुनः कारागारमा फर्काउन सरकारलाई अनुरोध समेत गरेको छ ।

त्यस्तै महामन्त्री थापाले आगामी निर्वाचनका लागि पार्टीले महाधिवेशनमार्फत नयाँ नेतृत्व लिएर अघि बढ्ने पनि बताए । उनले महाधिवेशनको कुरा विधानमै उल्लेख भएकाले सोही अनुसार अघि बढ्ने पनि बताए ।