सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछः गगन थापा

३ माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भएको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न अपील गरेका छन् ।

शुक्रबार राति विज्ञप्ति जारी गरी सभापति थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको र निर्वाचन आयोगले संविधान, प्रचलित कानुन तथा पार्टी विधानअनुसार निर्णय गरेको बताएका छन् । आयोगको निर्णयलाई उनले कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरिएको इमानदार प्रयासको साझा प्रतिफलका रूपमा व्याख्या गरेका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसमा विधि, विधान र पद्दति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन। निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको छ। यसप्रति हामी आभारी छौं । यो नेपाली कांग्रेसका हामी सदस्यहरू र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल हो । यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ। अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ।’