सामूहिक राजीनामापछि मनोनयन बहिष्कार:एमाले दोलखामा गम्भीर पार्टी संकट
दाेलखा । नेकपा एमाले दोलखामा पार्टी गहिरो संकटमा फस्दै गएको संकेत देखिएको छ।
प्रतिनिधि सभा उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै प्रमुख आकांक्षी वालकृष्ण शिवाकोटी मनोनयन दर्तामा अनुपस्थित रहनुका साथै यसअघि नै सामूहिक रूपमा राजीनामा दिएका नेताहरू पनि आजको मनोनयन प्रक्रियामा नदेखिनुले संकट झनै चर्किएको छ।
पार्टी निर्णयप्रति असहमति जनाउँदै राजीनामा दिएका स्थानीय तथा जिल्ला तहका नेताहरू मनोनयन दर्तामा समेत नआउनु एमाले दोलखामा संगठनात्मक विघटनको गम्भीर संकेतका रूपमा हेरिएको छ। यो अवस्था केवल व्यक्तिगत असन्तुष्टि नभई पार्टीभित्रको संरचनात्मक समस्या सतहमा आएको राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।
वालकृष्ण शिवाकोटी जस्ता प्रभावशाली नेता प्रक्रियाबाट अलग रहनु र उनका पक्षका नेताहरू पनि सामूहिक रूपमा निष्क्रिय देखिनुले कार्यकर्ता तहमा अन्योल, आक्रोश र निराशा बढाएको छ। यदि यस असन्तुष्ट समूहलाई तत्काल समेट्न नसकिए, एमाले दोलखामा मत विभाजन, संगठन कमजोर र चुनावी परिणाममै प्रत्यक्ष असर पर्ने खतरा बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्: