सर्लाहीमा मलाई सघाउने साथीहरू पर्याप्त हुनु हुन्छ, बाहिरबाट आउनुपर्दैनः सभापति थापा

१० माघ २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई आफ्नो निर्वाचन क्षेत्र नछाड्न निर्देशन दिएका छन् ।

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकपपछि पत्रकारहरू र कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले सबैलाई आफ्नो क्षेत्रमा जान र त्यहीँ चुनावी अभियान चलाउन निर्देशन दिएका हुन् । उनले बाहिरका नेता कार्यकर्तालाई अर्को क्षेत्रमा नजान निर्देशन दिए ।

उनले भने, ‘कोही पनि साथीले आफ्नो क्षेत्र छाडेर बाहिर नजानु होला । मेरै क्षेत्र सर्लाही ४ मा आउँछु भन्नेको संख्या ५ सय भन्दा माथि छ । तपाईंहरू आफ्नो क्षेत्रका उम्मेदवार जिताउन प्रतिबद्ध भएर खटिनु होला। बाहिरबाट मलाई सघाउन पनि आउनु पर्दैन । सर्लाहीमै मलाई सघाउने साथीहरू पर्याप्त हुनु हुन्छ ।’

सभापति थापाले आफ्नो पार्टीको अरू कुनै पनि दलसँग दुश्मनी नहुने र कार्यकर्ताहरूले पनि अनुशासन कायम राख्न आग्रह गरेका छन् ।

उनले यसपटक उम्मेदवार चयनमा केही त्रुटी भएका र आगामी दिन हुन नदिने प्रतिवद्धता जनाए । उनले भने, ‘केही त्रुटी भएका छन् । कमजोरी भएका छन् । यसका लागि यो कुराको अप्ठेरोलाई बुझिदिनुहुन आग्रह गर्छु ।’