असोज तेस्रो साता १५ औँ महाधिवेशन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

११ चैत्र २०८२

काठमाडौँ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी असोज तेस्रो साता हुने भएको छ । सभापति गगन थापाले मंगलबार भदौमा महाधिवेशनको प्रस्ताव गरेकोमा बुधबार बसेको केन्द्रीय समिति बैठकले असोज १६ गतेदेखि १८ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले भदौ २ बाट वडा अधिवेशन शुरू गर्ने निर्णय गरेको छ । यस्तै, गाउँ नगर अधिवेशन भदौ ७ गतेलाई सारिएको छ । यसअघिको प्रस्तावित कार्यतालिका साउन १२ मा तोकिएको थियो । कांग्रेसले साउन २३ मा प्रस्ताव गरेको प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई संशोधन गर्दै भदौ १७ गते गर्ने निर्णय गरेको छ ।

यस्तै, साउन ३० मा प्रस्ताव गरिएको क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन भदौ २४ गते गर्ने निर्णय भएको छ । यसबाहेक भदौ ६ र ७ गते गर्ने भनिएको एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन अब असोज २ र ३ गतेलाई सारिएको छ ।

केन्द्रीय समिति बैठकले भदौ १५ र १६ मा गर्ने प्रस्ताव गरेको सातै प्रदेशको अधिवेशनलाई असोज ७ र ८ गते गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन भने असोज १६, १७ र  १८  गते काठमाडौं गर्ने निर्णय कांग्रेसले गरेको छ ।