मलेसिया सिण्डिकेट लागू गर्न वैदेशिक रोजगार व्यवसायी संघका पुर्व अध्यक्ष कु-एक्सपर्ट वाग्ले सक्रिय-प्रयास असफल

८ बैशाख २०८३

वैदेशिक रोजगार क्षेत्र पुनः एकपटक “मलेसिया सिण्डिकेट” सम्बन्धी विवादले तातेको छ। वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष हंसराज वाग्लेले मलेसियामा सिण्डिकेट प्रणाली पुनः लागू गर्ने प्रयास गरेको आरोप व्यवसायीहरूले लगाएका छन्।

यस्ता गतिविधि गर्ने बिषयमा वैदेशिक रोजगार व्यवसायी संघ का पुर्व अध्यक्ष हंसराज वाग्ले लाई कु – एक्सपर्टका रुपमा पनि वैदेशिक रोजगार व्यवसायी हरुले चित्रित गर्ने गरेका छन । व्यवसायीहरूका अनुसार पुर्व अध्यक्ष हंसराज वाग्लेको उक्त प्रयासलाई संघमा आबद्ध व्यवसायीहरूको सामूहिक विरोधका कारण असफल पारिएको हो।

व्यवसायीहरूले वाग्लेमाथि आफ्नो कार्यकालदेखि नै विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन्। उनीहरूका अनुसार वैदेशिक रोजगार क्षेत्रमा गुटगत राजनीति गर्ने, स्वार्थ समूहहरूसँग सहकार्य गर्ने तथा विभिन्न निर्णयहरू सीमित समूहको फाइदाका लागि अघि बढाउने प्रवृत्ति वाग्लेसँग जोडिएको बताइन्छ।

यसैबीच, मलेसियासँग सम्बन्धित भिसा तथा कामदार व्यवस्थापन प्रक्रियामा संलग्न मलेसियाली कम्पनी Bestinet Sdn Bhd सँग जोडिएको माइक्रोटेक नेपाल नामक कम्पनीमार्फत सीमित मेडिकल संस्थाहरूलाई मात्र “बायोमेडिकल प्रणाली” मा आबद्ध गराउन सक्रिय भुमिका निर्वाह गरेको आरोप पनि व्यवसायीहरूले हंसराज वाग्लेलाइ लगाएका छन्। उनीहरूका अनुसार यस्तो व्यवस्था लागू भएमा वैदेशिक रोजगार प्रक्रिया केही निश्चित संस्था र समूहमा केन्द्रित भई पुनः सिण्डिकेटको अवस्था सिर्जना हुने थियो।

स्मरणीय छ, Bestinet ले यसअघि सञ्चालन गरेको Foreign Workers Centralized Management System (FWCMC) प्रणालीमाथि पनि विभिन्न समयमा भ्रष्टाचार, अनियमितता तथा कामदारहरूबाट अत्यधिक शुल्क असुलीको आरोप लाग्दै आएको थियो। यसै कारण विगतमा उक्त प्रणाली विवादमा परेको थियो।

व्यवसायीहरूको भनाइ अनुसार, हाल वाग्लेले पुनः त्यस्तै प्रकृतिको सिण्डिकेट प्रणाली लागू गर्न पहल गरे पनि संघमा आबद्ध अन्य व्यवसायीहरूको कडा विरोधका कारण त्यो प्रयास सफल हुन सकेन। साथै, संघ नै उक्त योजनामा बाधक बनेको भन्दै वाग्लेले संघको बाँकी करिब एक वर्ष कार्यकाल रहँदै संघ विघटन गर्ने प्रयास गरेको समेत आरोप लगाइएको छ। तर, उक्त प्रयास पनि सफल हुन नसकेको बताइएको छ। सिण्डिकेट प्रणाली को अपडेटेड भर्जन The Universal Recruitment Advanced Platform (TURAP) प्रणाली मार्फत मलेसियाले कामदार लैजाने प्रक्रियामा पनि वैदेशिक रोजगार व्यवसायी संघ लाई बाधक हुने आंकलन गरि कु.एक्सपर्ट पुर्व अध्यक्ष हंसराज वाग्ले ज्यु ले संघ लाई विघटन गरि आफ्नो स्वार्थ पूरा गर्ने कार्यमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु भएको भएतापनी यो प्रयास असफल भएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङ ले यस्ता सिण्डिकेट प्रणाली व्यवसायी र कामदार कसैको पनि हितमा नहुने जनाउनु भएको छ । वैदेशिक रोजगार क्षेत्रमा हुने गरेका यस्ता गतिविधि हरु लाई विफल बनाउन का लागि संघ एक ढिक्का भएर अघि बढन तयार भएको समेत अध्यक्ष गुरुङ ले बताउनु भएको छ । अध्यक्ष गुरुङ का अनुसार मलेसिया को सिण्डिकेट प्रणाली लाइ रोक्नका लागि वैदेशिक रोजगार व्यवसायी संघका दितिय उपाध्यक्ष देव खोखालि को नेतृत्व मा समिति गठन गर्ने तयारी भइ रहेको समेत बताउनु भएको छ ।

यता, वैदेशिक रोजगार व्यवसायी संघले भने आफू सधैं व्यवसायी तथा वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको हक–हित संरक्षणमा प्रतिबद्ध रहेको जनाएको छ। संघका पदाधिकारीहरूका अनुसार कुनै पनि किसिमको सिण्डिकेट वा एकाधिकार प्रणालीले दीर्घकालीन रूपमा क्षेत्रलाई नोक्सान पुर्‍याउने भएकाले त्यस्ता प्रयासहरूलाई निरुत्साहित गर्न संघ स्पष्ट रूपमा उभिएको छ।
वैदेशिक रोजगार क्षेत्र नेपालका लागि महत्वपूर्ण आम्दानीको स्रोत रहेको सन्दर्भमा यस क्षेत्रमा पारदर्शिता, प्रतिस्पर्धा र श्रमिक–मैत्री नीतिहरू आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। पछिल्लो विवादले पुनः यस क्षेत्रको नीतिगत सुधार, नियमन र निगरानी आवश्यकताको बहसलाइ अगाडि ल्याएको छ ।